खडेरी
From Wikipedia, the free encyclopedia
खडेरी पानीको आपूर्तिमा औषत वर्षा भन्दा कम पानी पर्नु, सहतमा पानीको कमी वा भूमिगत जलको कमी हुनाले निम्तिने दीर्घकालीन प्राकृतिक घटना हो। खडेरी शब्दले सामान्यभन्दा सुख्खा अवस्थालाई जनाउँछ। खडेरी दिन, महिना वा वर्षौँसम्म पनि चलिरहन सक्छ। खडेरीले प्रायः प्रभावित क्षेत्रको पारिस्थितिक प्रणाली र कृषिमा ठूलो प्रभाव पार्दै स्थानीय अर्थव्यवस्थामा पनि क्षति पुर्याउन सक्छ।[1][2] उष्णकटिबन्धीय क्षेत्रमा वर्षा ऋतु अघिको सुख्खा मौसमले खडेरीको सम्भावनामा उल्लेखनीय रूपमा वृद्धि गर्दा यसले डढेलोको जोखिम पनि बढाउन सक्छ। गृष्मलहरले वाष्पीकरण बढाएर खडेरीको अवधिलाई बढाउँछ यसले वन तथा अन्य वनस्पतिहरूलाई पनि सुकाउँदा डढेलो निम्तिन सक्छ। यसबाहेक गृष्मकालीन अवस्थाका पानी द्रुत वाष्पीकरण हुने हुँदा यसले खडेरीको अवस्थालाई चरम सीमामा पुर्याउन सक्छ। [3]
खडेरी संसारका अधिकांश भागहरूमा जलवायुको पुनरावृत्ति हुने विशेषता हो। तथापि, यी नियमित खडेरीहरू जलवायु परिवर्तनका कारण अधिक चरम र अधिक अप्रत्याशित भएका छन्। वृक्षचक्रिय कालमापन पद्धतिमा आधारित अध्ययनहरूले विश्वमा तापक्रम वृद्धि हुँदै जाँदा प्रभावित खडेरी सन् १९०० को दशकमा भएको पुष्टि गर्दछ। खडेरीले वातावरणीय, आर्थिक र सामाजिक पक्षलाई क्षति पुर्याउने देखिन्छ।[4] वातावरणीय प्रभावहरूमा सिमसार क्षेत्र सुक्दै जानु, डढेलो लाग्नु, जैविक विविधताको ह्रास हुनु समावेश छ। आर्थिक प्रभावहरूमा मानिसहरूका लागि पानीको आपूर्तिमा अवरोध, कम कृषि उत्पादकत्व र यसैले अधिक महँगो खाद्य उत्पादन समावेश छ। यसले सिँचाइ वा जलविद्युतका लागि पानीको अभाव पनि गराउनु गर्दछ। अत्याधिक गृष्मलहरका कारण सामाजिक र स्वास्थ्य लागत बढ्नु, उच्च खाद्य लागत, कृषिमा कम उत्पादकत्वका कारण हुने तनाव, पानीको अभाव र प्रत्यक्ष सम्पर्कमा रहेका मानिसहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव समावेश छ। लामो समयको खडेरीका कारण ठूलो सङ्ख्यामा बसाइँसराइ र मानवीय सङ्कट उत्पन्न हुनसक्छ।[5][6]
अमेजन बेसिन, अस्ट्रेलिया, सहेल क्षेत्र र भारत खडेरीको उच्च जोखिममा रहेका केही क्षेत्रहरू हुन्। उदाहरणका लागि, सन् २००५ मा अमेजन बेसिनका केही भागहरूले १०० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गर्नु परेको थियो। सन् २००८ को जुलाई ६ मा सरकारले तयार पारेको प्रतिवेदन अनुसार अस्ट्रेलियाले भीषण खडेरी झेल्नु पर्ने छ भने भविष्यमा यो थप जटिल हुनसक्ने छ। सन् २०१० मा अस्ट्रेलियामा लामोसम्म खडेरी चलेको थियो। भारतका १५० भन्दा बढी जिल्लाहरू खडेरीको उच्च जोखिममा रहँदा मुख्यतया राजस्थान, गुजरात, मध्य प्रदेश र यस वरिपरिको छत्तीसगढ, उत्तर प्रदेश, उत्तरी कर्नाटक र महाराष्ट्रमा खडेरी केन्द्रित छ। इतिहासकै सबैभन्दा लामो खडेरी चिलीको अताकामा मरुभूमि ४०० वर्षसम्म चलेको थियो। मानिसहरूले खडेरीलाई खाद्य उपलब्धता र समाजमा पर्ने असरका कारण यसलाई विपत्तिको रूपमा हेर्ने गरेका छन्। मानिसहरूले खडेरीलाई प्राकृतिक प्रकोप वा मानवीय क्रियाकलापबाट प्रभावित वा अलौकिक शक्तिहरूको परिणामको रूपमा हेरेका छन्।