डढेलो
From Wikipedia, the free encyclopedia
डढेलो, वन डढेलो वा जङ्गलको आगो[1] जङ्गलको दहनशील वनस्पति भएको एक क्षेत्रबाट सुरु हुने अनियोजित, अनावश्यक, अनियन्त्रित आगो हो। डढेलो लागेपछि त्यस वन क्षेत्रभित्र रहेका सबै रुख, बिरुवा, जीव जनावर आदि प्रभावित हुन्छन्। जङ्गल क्षेत्रभित्र रहेका रुख तथा पातपतिङ्गरहरू सुकेको अवस्थामा रहनु, सतहको माटोमा पानीको कमी र आद्रता न्यून भएको समयमा डढेलो लाग्ने सम्भवाना अत्यधिक हुन्छ। डढेलो प्राकृतिक कारणहरू जस्तै आकाशीय चट्याङ खसेर वा प्राकृतिक रूपले वनजङ्गलमा उत्पन्न घर्षणको कारणले लाग्न सक्छ। प्राकृतिक कारणका साथै यो मानव निर्मित समेत हुन सक्छ। डढेलो लाग्ने कारणको सर्वेक्षणको तथ्याङ्क अनुसार ५०% भन्दा बढी डढेलो मानिसको लापरवाही, असावधानी तथा नियतवश गरिने गरिएको पाइएको छ।[2] एक पटक आगोको झिल्का वनक्षेत्र भित्र रहेको सुकेको झाङमा लागेपछि उग्र भएर आगो हावाको प्रभावमा तीव्र गतिले फैल्ने गर्छ।
डढेलो अन्य आगलागीभन्दा भिन्न प्रकृतिको हुने गर्दछ, जसको कारण यसको विशाल आकार, यसको उद्गम स्थानदेखि आगो फैलिने गति र यसको दिशा परिवर्तन वा खाली ठाउँ जस्तै सडक, नदी आदिलाई उछिनेर अगाडि बढ्न सक्ने क्षमता हो।[3]
डढेलोको समस्या मुख्यतया ग्रीष्म ऋतुमा हुने गर्दछ र विश्वका धेरै जसो भू भागमा यो समस्या धेरै सामान्य हो जस्तै युरोपको ग्रिस,[4], अस्ट्रेलिया[5], अमेरिकाको क्यालिफोर्निया[6], ब्राजिलको अमेजन क्षेत्र[7] रहेको छ। नेपालमा समेत डढेलो प्रमुख समस्याको रूपमा रहेको छ।[8] डढेलोको कारण वस्तुभाउ, जङ्गली जनावर सखाप हुने, जैविक विविधतामा असर पुग्ने, मानिसको स्वास्थ्य स्थिति र वातावरणमा ठूलो असर पर्ने गरेको छ। डढेलोको कारण मुख्यतया वन क्षेत्रमा रहेका साना बिरुवा, घस्रिने तथा छिटो दौडन नसक्ने जनावरलाई बढी क्षति हुने गरेको छ ।